जनकपुरधाम, असोज १४ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरमा १७ वर्षीया नवविवाहित किशोरीको शंकास्पद अवस्थामा मृत्यु भएको छ ।
प्रहरीका अनुसार गत शनिबार राति दिनेश ठाकुरकी श्रीमती पूजा महतो घरमै सुतिरहेको अवस्थामा मृत फेला परेकी थिइन्। उनको घाँटीमा झुण्डिएको जस्तो डाम देखिएपछि घटनालाई शंकास्पद रूपमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
घटनापछि प्रहरीले पूजाका पति दिनेश ठाकुर र उनकी सासूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। पछि किरियाकर्मका लागि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ ।
यता, पूजाको माइती पक्षले भने उनको मृत्यु आत्महत्या नभई हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन्। माइती पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
प्रहरीका अनुसार पूजा र दिनेश एउटै वडाका फरक–फरक टोलमा बस्ने तथा फरक जातका थिए। उनीहरूबीच प्रेम सम्बन्ध रहेपछि परिवार तथा समाजले उमेर नपुगेको र अन्तरजातीय सम्बन्ध भएको भन्दै सम्बन्ध छुटाउन पञ्चायतसमेत गरेको बताइएको छ ।
तर परिवार र समाजको असहमतिका बाबजुद उनीहरूले करिब सात महिनाअघि भागेर अन्तरजातीय विवाह गरेका थिए। विवाह गरेको सात महिना नपुग्दै पूजाको घाँटीमा डाम देखिने गरी शव फेला परेपछि घटनाले थप शंका उत्पन्न गरेको हो ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। पूजाको पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।
प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

