तिलोत्तमा: सहकारी प्रवर्द्धन तथा संरक्षणको क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार मिलन गाहा (यम) ‘जनउत्थान पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन् ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीले आफ्नो २१औँ निर्णय प्रमाणित साधारणसभाको अवसरमा गाहालाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।
तिलोत्तमा नगरपालिका–१५ स्थित ड्रीमल्याण्डको सभाहलमा शनिबार आयोजित कार्यक्रममा नेपाल सरकारकी सांसद ज्ञानु पौड्यालसहित विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा सहकारी अभियन्ताहरूको उपस्थितिमा गाहालाई सम्मान गरिएको थियो ।
सहकारी क्षेत्रको प्रवर्द्धन, संरक्षण तथा यससँग सम्बन्धित विषयलाई पत्रकारितामार्फत उजागर गर्न योगदान पुर्याएको भन्दै उनलाई पुरस्कार प्रदान गरिएको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।
पत्रकार गाहा विगत साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनी मेचीकाली दैनिक, नेपाल टेलिभिजन तथा फोनिज लगायतका सञ्चार तथा पत्रकारिता संस्थासँग आबद्ध रहेर काम गर्दै आएका छन्। पुरस्कारले सहकारी क्षेत्रका गतिविधि र सवाललाई पत्रकारितामार्फत थप प्रभावकारी रूपमा उठाउन आफूलाई प्रेरणा मिलेको गाहाले बताए ।

