मंजित मधेसी
साेनमा, असाेज १९ गते ।
महोत्तरीको सोनमा गाउँपालिकामा पछिल्लो समय विद्युत् पूर्वाधार चोरीका घटना लगातार बढ्न थालेपछि स्थानीय तहले चिन्ता व्यक्त गरेको छ। गाउँपालिकाका विभिन्न वडामा विद्युत् पोलबाट तार काटेर लैजानेदेखि ट्रान्सफर्मर नै चोरी हुनेसम्मका घटना हुन थालेका छन् ।
सोनमा गाउँपालिका–५ खैरबनीमा १७ गते राति मात्रै १४ वटा विद्युत् पोलबाट चार फेजको एबीसी तार चोरी भएको गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले बताएका छन्। विद्युत् आपूर्तिका लागि जडान गरिएका तार एकै रातमा ठूलो परिमाणमा काटेर चोरी भएपछि स्थानीय बासिन्दा प्रभावित भएका छन् ।
अध्यक्ष यादवका अनुसार समस्या खैरबनीमा मात्रै सीमित छैन। गाउँपालिकाको वडा नं. २ र ६ मा पनि गत आइतबार एकै रातमा दुईवटा ट्रान्सफर्मर चोरी भएका छन्। विद्युत् सेवा सञ्चालनका लागि अत्यावश्यक ट्रान्सफर्मर नै चोरी हुन थालेपछि गाउँपालिकामा विद्युत् पूर्वाधारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको उनले बताए ।
अध्यक्ष यादवले एकै क्षेत्रमा छोटो समयको अन्तरालमा ठूलो परिमाणमा विद्युत् तार र ट्रान्सफर्मर चोरी हुनुलाई सामान्य घटना मान्न नहुने बताए। उनका अनुसार यस्ता घटनाले स्थानीय नागरिकलाई प्रत्यक्ष असर पार्नुका साथै गाउँपालिकामा विद्युत् सेवा विस्तार र सञ्चालनमा समेत समस्या सिर्जना गरेको छ ।
विद्युत् तार तथा ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउनुपर्ने अध्यक्ष यादवको भनाइ छ। उनले घटनाको प्रभावकारी अनुसन्धान गरी चोरीमा संलग्न समूह तथा त्यसमा संलग्न अन्य व्यक्तिमाथि समेत कारबाही हुनुपर्ने बताए ।
स्थानीयका अनुसार विद्युत् संरचना चोरीका कारण सेवा अवरुद्ध हुँदा दैनिक कामकाजदेखि सिँचाइ तथा अन्य अत्यावश्यक सेवासमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ। गाउँपालिकाले विद्युत् पूर्वाधारको सुरक्षा र चोरी नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने स्थानीयको माग छ ।
पछिल्ला घटनाले ग्रामीण क्षेत्रमा जडान गरिएका विद्युत् पोल, एबीसी तार र ट्रान्सफर्मरको सुरक्षा चुनौती थपिएको देखिएको छ। एकै रातमा धेरै पोलको तार र अलग–अलग वडाबाट ट्रान्सफर्मर चोरी हुन थालेपछि घटनाको गहिरो अनुसन्धान आवश्यक देखिएको छ ।

