मंजित मधेसी
साेनमा, असाेज २० गते ।
महोत्तरीकाे सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वरप्रसाद यादव कार्यालयको कुर्सीमा बसेर निर्देशन दिनेमात्र होइन, गाउँका सडकमा देखिएका समस्या समाधान गर्न आफैं फिल्डमा उत्रिएका छन् ।

सार्वजनिक बाटोमै गाई, गोरु लगायतका चौपाया बाँध्ने, टायर, ट्र्याक्टर तथा अन्य सामग्री राखेर सडक अतिक्रमण गर्ने क्रम बढेपछि अध्यक्ष यादवले त्यसलाई हटाउन स्थलगत रूपमा अनुगमन गर्दै अतिक्रमित क्षेत्र खाली गराउन थालेका हुन् ।

सडकको दुवैतर्फ सामग्री थुपारिँदा तथा चौपाया बाँधिँदा पैदल यात्रुदेखि सवारीसाधनसम्मलाई आवतजावतमा समस्या हुने गरेको स्थानीयको गुनासो थियो। कतिपय स्थानमा सडक साँघुरिँदा दुर्घटनाको जोखिमसमेत बढेको भन्दै गाउँपालिकाले सडकलाई व्यवस्थित र अतिक्रमणमुक्त बनाउने अभियान अघि बढाएको हो ।

अध्यक्ष यादव आफैं सडकमा पुगेर बाटोमा राखिएका सामग्री हटाउन निर्देशन दिँदै अतिक्रमित क्षेत्र खाली गराउने काममा सक्रिय देखिएका छन्। उनले सार्वजनिक सडक तथा बाटो कसैको व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न नदिने स्पष्ट पारेका छन् ।

अध्यक्ष यादवले सोनमा गाउँपालिकाका सबै वडामा रहेका सडक तथा सार्वजनिक बाटोलाई क्रमशः अतिक्रमणमुक्त बनाउँदै सरसफाइ र व्यवस्थापन गरिने बताए। उनका अनुसार यो अभियान कुनै एउटा वडा वा स्थानमा मात्र सीमित नराखी गाउँपालिकाका सबै वडामा सञ्चालन गरिनेछ ।

“सार्वजनिक बाटो सबैको साझा हो। बाटोमै चौपाया बाँध्ने, टायर, ट्र्याक्टर तथा अन्य सामग्री राखेर आवतजावतमा अवरोध गर्न पाइँदैन,” अध्यक्ष यादवले भने, “गाउँपालिकाका सबै वडाका बाटोलाई अतिक्रमणमुक्त र सफा बनाउने अभियान निरन्तर अघि बढाउँछौं ।”

गाउँपालिकाले सडक अतिक्रमण हटाउनेसँगै सडक आसपासको सरसफाइलाई पनि प्राथमिकता दिने जनाएको छ। अध्यक्ष यादवको सक्रियतामा सुरु भएको अभियानले सार्वजनिक सडकको संरक्षणसँगै गाउँको समग्र सरसफाइ र आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार