सुनसरी: विराटनगरबाट यात्रु लिएर सिराहाको लहानतर्फ जाँदै गरेको यात्रुवाहक बस सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिपुर क्षेत्रमा मंगलबार साँझ करिब ५ः५० बजे को १ ख ४७७७ नम्बरको बस अनियन्त्रित भई सडकछेउको नहरमा खसेको प्रहरीले जनाएको छ। बसमा करिब ३० जना यात्रु सवार रहेको बताइएको छ ।

दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी कोशी कटान, हरिपुर र भाण्टाबारी तथा ट्राफिक प्रहरी पोस्ट कटान, लौकही र भाण्टाबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाएको जनाएको छ ।

घाइतेमध्ये केहीको स्थानीय मेडिकल भाण्टाबारी र केहीको सप्तकोशी न्युरो अस्पताल सुनसरीमा उपचार भइरहेको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ ।

स्थानीय मेडिकल भाण्टाबारीमा उपचाररत घाइतेहरूमा सप्तरी खरजियाकी ३० वर्षीया सरोजकुमारी चौधरी, ४९ वर्षीय टुनाई राम, रुपनी–६ का १९ वर्षीय विक्रम सरदार, बोदेबरसाइन–१ का २० वर्षीय हरिशंकर सरदार, रुपनी–६ का १८ वर्षीय टेक सरदार, राजविराज–९ की शान्ति देवी यादव, कृष्णसरणका रामकुमार, शम्भुनाथ–५ का पुन्य राम, बयलकोटीकी सरितादेवी राम, सन्तोषकुमार यादव, भारदहका हेमबहादुर लामा, सलमपुरका हनुमान राम र कृष्णसरणका राजेश अधिकारी रहेका छन् ।

त्यस्तै, सप्तकोशी न्युरो अस्पतालमा सिरहा बरियारपट्टि–३ का २१ वर्षीय सनक्षीकुमार यादव, ५२ वर्षीया शान्ति देवी, धनगढीमाई–१४ का ४४ वर्षीय होमबहादुर तामाङ, ३५ वर्षीया लक्ष्मी कुमारी लामा, सप्तरी भारदहका १३ वर्षीय फारुक मन्सुरी, १० वर्षीय अजसारुख मन्सुरी, ३० वर्षीय सबिरन खातुन, सिरहा विष्णुपुरकी ४० वर्षीया मन्जुकुमारी महतो, २५ वर्षीया निर्मला महतो, सप्तरी भारदहकी सुमेरा खातुन, हनुमाननगर कंकालिनी–९ का ७५ वर्षीय महेन्द्र ठाकुर लोहार, सिरहा सुखीपुरका ४५ वर्षीय भगवान राम, ३५ वर्षीया सरिता राम, सप्तरी सुरुङ्गा लक्ष्मीपुरकी २४ वर्षीया प्रमिताकुमारी मण्डल र ६५ वर्षीय जगदिश मण्डल उपचाररत रहेको प्रहरीले जनाएको छ ।

बसका चालक र सहचालकको विवरण भने खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार