काठमाडौं, असोज २७ गते ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका अर्थमन्त्री वाग्लेले बैठकका क्रममा १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ ।

बैठकमा विभिन्न देशका अर्थमन्त्री, विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकका क्रममा नेपालको वर्तमान आर्थिक अवस्था, विकासका प्राथमिकता र अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि तथा विभिन्न देशका अर्थमन्त्रीसँग हुने छलफललाई नेपालको आर्थिक अवस्था र विकासका आवश्यकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ। यस क्रममा आर्थिक सहकार्य विस्तार, विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी र साझा आर्थिक चुनौतीका विषयमा समेत विचार आदानप्रदान हुने अपेक्षा छ ।

अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख एवं सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक गएका छन्।
अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार