जनकपुरधाम: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित प्रसिद्ध गंगासागर घाटमा छठ पर्व मनाएका छन्। आइतबार साँझ लामिछाने दम्पतीले गंगासागर घाटमा विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजाआराधना गरेका हुन्।

परिवार सहित छठ पर्व मनाउन जनकपुरधाम आएका लामिछाने दम्पती छठ पूजाका सामग्री लिएर गंगासागर घाट पुगेका थिए। उनीहरूले घाटमा अन्य व्रतालु तथा श्रद्धालुहरूसँगै सहभागी भई श्रद्धा र भक्तिपूर्वक अस्ताउँदो सूर्यको उपासना गरेका थिए।

मिथिलाञ्चलको विशेष सांस्कृतिक एवं धार्मिक पहिचानका रूपमा रहेको छठ पर्वमा लामिछाने दम्पतीको सहभागिताले गंगासागर घाटको माहोल थप चर्चामा आएको थियो। यसअघि लामिछाने आफैँले टाउकोमा छठ पूजाका सामग्री राखिएको डालो (छैंटी) बोकेर घाटसम्म पुगेका थिए।

छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले दिनभर निर्जल व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक विश्वास छ।

यस अवसरमा जनकपुरधामका गंगासागर, धनुषसागर, अरगज्जा सागरसहित विभिन्न पोखरी तथा जलाशयका घाटहरूमा व्रतालु र श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो। छठ पर्वका अवसरमा घाटहरूलाई आकर्षक रूपमा सजाइएको थियो भने साँझपख अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न श्रद्धालुहरूको घुइँचो लागेको थियो।

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि विधिवत् रूपमा सम्पन्न हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार