सर्लाही, कार्तिक ३० गते ।
मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनाबाट प्रभावित परिवारलाई भेट्न प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल सर्लाही पुगेका छन् ।
सभामुख अर्यालले चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेका आफन्तसँग भेट गरेका हुन्। उनले पीडित परिवारको अवस्था र उनीहरूले भोगिरहेको समस्याबारे जानकारी लिँदै दुःखको यस घडीमा राज्य उनीहरूको साथमा रहेको बताए ।
उनले घाइतेहरूको उपचारमा आवश्यक सहयोग गर्नुका साथै मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरणका लागि पहल गर्ने आश्वासनसमेत दिए ।
सभामुख अर्यालको भेटका क्रममा सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ का सांसद नरेन्द्र साह, क्षेत्र नम्बर २ का सांसद रवीन महतोसहित अन्य जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

