झापा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले ६० दिने मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजाआजा गरेपछि उनले झापास्थित ऐतिहासिक मेची पुलबाट पदयात्राको औपचारिक शुभारम्भ गरेका हुन्।

पदयात्रा सुरु गर्नुअघि रास्वपाका सभापति रवि लामिछानेले सांसद सिंहलाई राष्ट्रिय झण्डा र पार्टीको झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिएका थिए। लामिछानेले पदयात्रालाई दलगत राजनीति र पार्टीगत सीमाभन्दा माथि उठेर राष्ट्रिय एकता, शान्ति तथा सद्भावको सन्देश दिने अभियानका रूपमा अघि बढाउन आग्रह गरेका थिए। सबै जातजाति, भाषा र संस्कृतिलाई एकै ठाउँमा जोड्ने सन्देश यस यात्राबाट प्रवाह हुने उनको विश्वास थियो।

झापाको मेची पुलबाट पदयात्रा सुरु गर्दा रास्वपाका सांसद प्रकाश पाठक, शम्भुप्रसाद ढकाल, जिल्ला सभापति ओम भण्डारीलगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

सांसद सिंहका अनुसार पदयात्राको पहिलो चरण आगामी माघ १ गते सम्पन्न हुनेछ। त्यसपछि दोस्रो चरणअन्तर्गत आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग हुँदै अर्को पदयात्रा सुरु गर्ने तयारी छ।

पदयात्राका क्रममा दैनिक पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा नागरिकका कुरा सुन्ने योजना रहेको सिंहले बताएका छन्। उनले विभिन्न जातजाति, समुदाय, वर्ग तथा भाषाभाषीका नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरी उनीहरूका समस्या, गुनासा तथा सरकारप्रतिको अपेक्षा संकलन गर्ने बताए।

नागरिकबाट प्राप्त सुझाव, गुनासा र मागलाई अभिलेखीकरण गरी रास्वपा सभापति रवि लामिछाने तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउने पनि उनले जानकारी दिएका छन्।

मेची पुलबाट सुरु भएको पदयात्रा पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थान हुँदै महाकालीसम्म पुग्नेछ। ६० दिनसम्म सञ्चालन हुने यस अभियानमार्फत नागरिकका आवाज, समस्या र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्ने तथा राष्ट्रिय एकता र सद्भावको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको सांसद सिंहले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार