काठमाडौं: राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा अभिवृद्धि, डिजिटल कर सेवाको प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले साताव्यापी कार्यक्रम सुरु गरेको छ।
दिवसको अवसरमा आज आन्तरिक राजस्व विभागमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान पुर्याउने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ।
‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत करदाता सम्मान, प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ।
कार्यक्रमअन्तर्गत विभाग मातहतका कार्यालयहरूले आ–आफ्नो कार्यक्षेत्रका तीन–तीन जना करदातालाई सम्मान गर्नेछन्। साथै करको दायरा विस्तार, करसम्बन्धी विभिन्न स्किमको कार्यान्वयन, डिजिटल कर सेवाको प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि सचेतनामूलक प्रचारप्रसार गरिनेछ।
करसम्बन्धी जनचेतना अभिवृद्धि गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक डिस्प्ले बोर्डसमेत राखिनेछ। त्यस्तै, शैक्षिक परामर्श तथा ओभरसिज कम्पनीलाई लक्षित विशेष कार्यक्रम, उद्योग वाणिज्य संघसँगको सहकार्यमा सचेतना अभियान र स्थानीय तह तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षण दिने कार्यक्रमसमेत तय गरिएको छ।
सरकारले करलाई राष्ट्र निर्माणमा नागरिकको प्रत्यक्ष सहभागिताका रूपमा लिँदै कर प्रशासनलाई भ्रष्टाचारमुक्त, पारदर्शी, सरल र प्रविधिमैत्री बनाउने लक्ष्य अघि सारेको छ। साथै कर तिरेबापत नागरिकले प्राप्त गर्ने सेवासुविधा र त्यसको प्रतिफल प्रत्यक्ष अनुभूति गराउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

