काठमाडौं: प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चितताको माग गर्दै नेपाल पत्रकार महासंघले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। महासंघले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढेको, पत्रकारमाथि धरपकड भइरहेको तथा सञ्चारमाध्यममा कार्यरत पत्रकारको पेसागत र श्रम अधिकार असुरक्षित बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजिएको र सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याउनेमाथि कारबाही नभएको महासंघको आरोप छ।

त्यस्तै, गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भइरहेको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकमसमेत उपलब्ध नगराइएको विषयलाई महासंघले आन्दोलनको प्रमुख कारण बनाएको छ।

महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम तय गरिएको छ।

यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ भने मंसिर ७ गते देशभरका जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन्।

आन्दोलनलाई थप सशक्त बनाउने क्रममा मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरिने महासंघले जनाएको छ। जिल्ला शाखाहरूको आयोजनामा हुने प्रदर्शनमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित पत्रकारहरू सहभागी हुनेछन्।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारसम्बन्धी माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। मागप्रति सरकार गम्भीर नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत महासंघले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार