ललितपुर: स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंसिर १ गते बिहान करिब १०ः२० बजे विशेष सूचनाका आधारमा ललितपुर महानगरपालिका–२, सानेपा क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सप्लायर्सका सञ्चालक भगवान शाहको कम्पनीमा कार्यरत तीन कर्मचारी बा.प्र. १–०२७ च २७६५ नम्बरको भ्यानमा नख्खु चोकतर्फ जाँदै गर्दा प्रहरीले शंकास्पद अवस्थामा जाँच गरेको थियो। सो क्रममा भ्यानभित्र राखिएको एउटा बोराबाट विभिन्न दरका नेपाली नोट फेला परेका थिए।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० बोराटारका ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्।
प्रहरीका अनुसार खड्का मार्केटिङ, केसी चालक र रिजाल लोडरका रूपमा सप्लायर्समा कार्यरत थिए।
बरामद रकममध्ये एक हजार दरका नोट १ करोड ९ लाख ८७ हजार, पाँच सय दरका नोट ५१ लाख ५० हजार, एक सय दरका नोट ५ लाख, ५० दरका नोट ४२ हजार ६००, २० दरका नोट ४२ हजार ३६०, १० दरका नोट १० हजार २७० र पाँच दरका नोट एक हजार रुपैयाँ रहेका छन्।
बरामद नगदसहित पक्राउ परेका तीनै जनालाई प्रहरी कार्यालयमा राखेर रकमको स्रोत तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

