गुल्मी: गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै सरकारी निवासमा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास (क्वार्टर) मा बस्दै आएका केसी मंगलबार बिहान मृत भेटिएका हुन्। बिहान साढे ९ बजेसम्म पनि उनी निवासबाट बाहिर ननिस्किएपछि प्रहरी टोलीले उनको अवस्थाबारे जानकारी लिन खोजेको थियो।

निवासको ढोका लामो समयसम्म नखुलेपछि प्रहरी टोली झ्यालबाट भित्र प्रवेश गरेको थियो। त्यसक्रममा केसी अचेत अवस्थामा भेटिएपछि तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीका अनुसार प्रहरी निरीक्षक केसीको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार