जनकपुरधाम: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादव निलम्बनमा रहेकाले पार्टी विधानअनुसार उपसभापतिले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन्।
न्यौपानेले यादवको निलम्बन फुकुवा नभएसम्म वा अर्को अधिवेशनबाट नयाँ सभापति चयन नभएसम्म जिल्ला समितिको नेतृत्व उपसभापतिले नै गर्नुपर्ने स्पष्ट पारेका हुन्। उनका अनुसार धनुषा जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी हाल नरेन्द्रकुमार कार्कीले सम्हालिरहेका छन्।
केन्द्रीय संगठन विभाग प्रमुख न्यौपानेको प्रमुख अतिथिमा धनुषा जिल्ला कार्यसमितिको अन्तरक्रियात्मक बैठक समेत सम्पन्न भएको छ। बैठकको अध्यक्षता कार्यवाहक सभापति नरेन्द्रकुमार कार्कीले गरेका थिए।
बैठकमा रास्वपाका केन्द्रीय सदस्यद्वय अंकित यादव र जुली यादव, मधेश प्रदेश महामन्त्री मनिष साह, मधेश प्रदेश संगठन विभागका उपप्रमुख अम्भु प्रसाद साह, प्रदेश समिति सदस्यहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू र विभिन्न निर्वाचन क्षेत्रीय समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा पार्टीको संगठनात्मक अवस्था, जिल्ला समितिको जिम्मेवारी तथा विधानअनुसार पार्टी सञ्चालनका विषयमा छलफल भएको जनाइएको छ।

