गौशाला, मंसिर ४ गते ।

महोत्तरीको गौशाला नगरपालिकामा तेस्रो मेयर कप नगरस्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। नगरपालिकाको आयोजनामा गौशालास्थित बिर्ता खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख डा. दिपेन्द्र महतोले गर्नुभएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख महतोले युवालाई लागुऔषध दुर्व्यसनबाट जोगाउन खेलकुदलाई प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। पछिल्लो समय गाँजा, ट्याब्लेटलगायतका लागुपदार्थ सेवन गर्ने युवाको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले युवालाई खेलकुदमा आकर्षित गर्न सके अनुशासन, स्वास्थ्य र सामाजिक जिम्मेवारीको भावना विकास हुने बताउनुभयो।

उहाँले भन्नुभयो, “युवालाई उद्देश्यविहीन रूपमा समय बिताउने अवस्थाबाट बाहिर निकालेर खेलकुदमा जोड्न आवश्यक छ। खेलकुदले युवाको शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्नुका साथै समाजमा बढ्दै गएका विकृति नियन्त्रण गर्न पनि सहयोग पुर्‍याउँछ।”

विद्यालय जाने उमेरका किशोरकिशोरीसमेत दुर्व्यसनको जोखिममा पर्न थालेकाले परिवार, विद्यालय, समाज र स्थानीय सरकार सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो। दुर्व्यसनमा फसेका युवालाई परामर्श, उपचार र पुनःस्थापनामार्फत समाजको मूलधारमा फर्काउने तथा लागुऔषधको अवैध कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

नगरप्रमुख महतोले गौशालामा क्रिकेटको विकासका लागि नगरपालिकाले दीर्घकालीन योजना अघि बढाएको जानकारी दिनुभयो। क्रिकेट एकेडेमी स्थापना गर्ने उद्देश्यले बजेट विनियोजन गरिए पनि केही कानुनी जटिलताका कारण काम सुरु हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी एकेडेमी स्थापनाको योजना कार्यान्वयन गरिने उहाँको भनाइ थियो।

नगरपालिकाले १२ वटै वडाबाट खेलाडी छनोट गरी आफ्नै पुरुष क्रिकेट टिमसमेत निर्माण गरिसकेको छ। उक्त टिमका खेलाडीलाई गत वर्षदेखि मासिक तीन हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको र यस वर्ष पनि निरन्तरता दिइने नगरप्रमुख महतोले जानकारी दिनुभयो। खेलाडीलाई नियमित प्रशिक्षण दिनुका साथै जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो।

महिला क्रिकेटको विकासलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ। गौशाला महिला क्रिकेट टिमका खेलाडीलाई नगरपालिका र पैरवी मञ्चको सहयोगमा करिब साढे दुईदेखि तीन महिनासम्म प्रशिक्षण प्रदान गरिएको थियो। खेलाडीलाई जर्सी, ज्याकेट, जुत्ता, ब्याट र बललगायतका सामग्रीसमेत उपलब्ध गराइएको छ। आगामी दिनमा महिला खेलाडीलाई पनि पुरुष खेलाडीसरह आर्थिक प्रोत्साहन वा मासिक स्टाइपेन्ड उपलब्ध गराउने योजना रहेको नगरप्रमुख महतोले बताउनुभयो।

त्यसैगरी, गौशालामा व्यवस्थित खेलमैदानको अभाव हटाउन मरहा पुलपारि पेट्रोल पम्पभन्दा दक्षिणतर्फ रहेको करिब १५ देखि १६ बिघा जग्गालाई खेलमैदानका रूपमा विकास गर्ने तयारी गरिएको छ। उक्त जग्गा अतिक्रमण गरी बसेकालाई हटाउन सूचना जारी गर्ने र आगामी १० देखि १५ दिनभित्र मैदान निर्माणको काम सुरु गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो। खेलमैदान व्यवस्थापनका लागि चालु आर्थिक वर्षको बजेटमा रोलर खरिद गर्ने व्यवस्था गरिएको छ।

नगरपालिकाले राष्ट्रियस्तरका खेलाडीलाई समेत प्रोत्साहन गर्दै आएको छ। एक राष्ट्रिय खेलाडीलाई मानार्थ छैटौँ तहको अधिकृतमा नियुक्त गरी गत वर्षदेखि तलब उपलब्ध गराउँदै आएको नगरप्रमुख महतोले जानकारी दिनुभयो।

यसैबीच, अघिल्ला दुई संस्करणमा देखिएका कमीकमजोरी सुधार गर्दै यसपटकको प्रतियोगितालाई थप व्यवस्थित बनाइएको नगरपालिकाले जनाएको छ। प्रतियोगिता सुरु हुनुअघि १२ वटै वडाका टिम व्यवस्थापक र कप्तानसँग छलफल गरी खेल व्यवस्थापन, विगतका समस्या तथा आगामी योजनाबारे सुझाव सङ्कलन गरिएको थियो।

शुक्रबार सम्पन्न उद्घाटन खेलमा वडा नम्बर १ रामनगर र वडा नम्बर २ निगौलका क्रिकेट टिमबीच प्रतिस्पर्धा भएको छ। प्रतियोगितामा नगरपालिकाका १२ वटै वडाका टिम सहभागी हुँदैछन्। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्रिकेटप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलप्रेमी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। नगरपालिकाले क्रिकेटसहित समग्र खेलकुदको पूर्वाधार विकास, नियमित प्रशिक्षण, खेलाडी उत्पादन तथा महिला र पुरुष क्रिकेट टिमको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ।

खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी युवाको प्रतिभा विकास, लागुऔषध दुर्व्यसन नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरणको माध्यम बनाउने नगरपालिकाको लक्ष्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार