जनकपुरधाम: मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिएको थियो।
तर, तोकिएको समय मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म कुनै पनि दलले मुख्यमन्त्री पदका लागि दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रदेश प्रमुख कर्णले यादवलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


