जनकपुरधाम, मंसिर ५ गते ।
मधेश प्रदेशका बालबालिकाको हक, अधिकार र आवाजलाई प्रदेशस्तरमा प्रभावकारी रूपमा उठाउने उद्देश्यले गठित बाल क्लब सञ्जालको अध्यक्षमा धनुषाका शिवकुमार सदा सर्वसम्मत चयन भएका छन्।
जनकपुरधाममा मंसिर ४ र ५ गते सम्पन्न प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन एवं क्षमता विकास कार्यशालाले सदालाई आगामी कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। नगराइन नगरपालिका–२ निवासी सदा यसअघि धनुषा जिल्ला बाल क्लब सञ्जालको अध्यक्ष भएर काम गरिसकेका छन्।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारासहित सम्पन्न कार्यशालाबाट १७ सदस्यीय प्रदेशस्तरीय कार्यसमिति गठन गरिएको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सिरहाकी पूजा महतो र सप्तरीका सुजन बस्नेत चयन भएका छन्। सचिवमा पर्साकी करिश्मा गुप्ता तथा सहसचिवमा रौतहटका मोहम्मद नजिम निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा सम्झना चौधरी, अदिती रौनियार, सलमान हवारी, नन्दनी कुमारी साह, सन्जना कुमारी कुशवाहा, सवाव अन्सारी, अमन यादव, अम्बिका यादव, जागृती राज चौधरी, रितिक शर्मा र रोहन परियार रहेका छन्।
आठ जिल्लाबाट दुई–दुई जनाका दरले प्रतिनिधित्व हुने गरी १६ जना र एक जना मनोनीत गरी १७ सदस्यीय कार्यसमिति बनाइएको आयोजकले जनाएको छ।
अध्यक्षको जिम्मेवारी पाएसँगै सदाले प्रदेशका सबै जिल्लाका बालबालिकालाई एउटै सञ्जालमा जोडेर उनीहरूका समस्या, आवश्यकता र आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने बताएका छन्। बालबालिकामाथि हुने हिंसा, विभेद, शोषण तथा दुर्व्यवहारविरुद्ध अभियान सञ्चालन गर्नुका साथै उनीहरूलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउन पहल गर्ने उनको योजना छ।
कार्यशालामा बालबालिकाको अधिकार संरक्षण, उनीहरूको अर्थपूर्ण सहभागिता, नेतृत्व क्षमता अभिवृद्धि तथा बाल क्लब सञ्जाललाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। बालबालिकालाई आफ्ना सवालमा आफैँ बोल्न, नेतृत्व गर्न र निर्णय प्रक्रियामा सहभागी हुन सक्षम बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
कार्यक्रममा नेपाल सरकारको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय रहेको थियो। युनिसेफ, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल र वर्ल्ड भिजनलगायत संस्थाले कार्यक्रमलाई सहयोग गरेका थिए।
प्रदेशस्तरीय सञ्जालको गठनसँगै मधेशका बालबालिकाले आफ्ना साझा मुद्दा उठाउन र अधिकार प्राप्तिका लागि संगठित रूपमा आवाज बुलन्द गर्न थप संस्थागत आधार पाएको अपेक्षा गरिएको छ।

