काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि आज भारत जाँदै छन्। प्रधानमन्त्री बनेपछि पहिलोपटक विदेश भ्रमणमा निस्कन लागेका शाहले आफ्नो गन्तव्यका रूपमा भारत रोजेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धको आगामी दिशा र दुई देशबीचको सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। विशेषगरी दुई देशका सरकार प्रमुखबीच हुने प्रत्यक्ष संवाद र त्यसबाट बन्ने समझदारीले भ्रमणको महत्त्व थप बढाएको छ।

आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानबाट ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शाह भारत प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी सहभागी छन्।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्। नेपाली समयअनुसार दिउँसो ३ः३० बजे दिल्ली अवतरण गर्ने कार्यक्रम रहेको छ।

भारत पुगेकै दिन शाहले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। आइतबार साँझ ६ बजे ताजमहल होटलमा हुने भेटवार्ताले सोमबार हुने उच्चस्तरीय द्विपक्षीय छलफलको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

मोदीसँगको भेटवार्तामा सबैको चासो

भ्रमणको मुख्य आकर्षण सोमबार हुने प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता हुनेछ। सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

बिहान ११ बजे हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता हुनेछ। उक्त वार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

वार्तापछि दिउँसो १२ः२५ बजे दुवै पक्षबीच समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ। त्यसलगत्तै दुवै देशका तर्फबाट प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भएकाले यसलाई कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। भ्रमणले दुई देशबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, आर्थिक साझेदारी र सहकार्यका नयाँ सम्भावनालाई अघि बढाउन कस्तो भूमिका खेल्छ भन्ने विषयमा पनि चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार