गाैशाला: भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आज सोमबार विभिन्न उच्चस्तरीय कूटनीतिक भेटवार्ता तथा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुँदैछन्।
प्रधानमन्त्री शाहको आजको कार्यतालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता, दुई देशबीच समझदारीपत्र आदानप्रदान तथा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटलगायतका कार्यक्रम समेटिएका छन्।
निर्धारित कार्यक्रमअनुसार बिहान १० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे राजघाट पुगेर उनले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन्।
भ्रमणको मुख्य कूटनीतिक कार्यक्रमअन्तर्गत बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ। उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
भेटवार्तापछि दिउँसो १२ः२५ बजे दुई देशबीच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गरिने कार्यतालिका छ।
त्यसैगरी दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग प्रधानमन्त्री शाहको शिष्टाचार भेटवार्ता हुनेछ। भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरेपछि अपराह्न ४ः५० बजे उनी स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका थिए। प्रधानमन्त्रीको यस भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

