दैलेख: दैलेखमा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तथा अनधिकृत पार्किङ हटाउन भूमि प्रशासन कार्यालयले सातदिने सार्वजनिक सूचना जारी गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग, भूमि प्रशासन कार्यालय दैलेखले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका अस्थायी घरटहरा तथा अन्य संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संघसंस्थालाई निर्देशन दिएको हो।

कार्यालयले जारी गरेको सूचनाअनुसार दैलेख जिल्लाको साविक नारायण गाविस वडा नं. १, हाल नारायण नगरपालिका वडा नं. १ स्थित कित्ता नं. २२५ को १ हजार ८४ वर्गमिटर सरकारी जग्गा अतिक्रमण भएको छ। उक्त जग्गामा केही व्यक्ति तथा संघसंस्थाले अस्थायी घरटहरा र अन्य संरचना निर्माण गर्नुका साथै मोटरसाइकल, गाडी तथा बस पार्किङलगायतका प्रयोजनमा अनधिकृत रूपमा प्रयोग गर्दै आएको कार्यालयले जनाएको छ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अतिक्रमण गरी निर्माण गरिएका सम्पूर्ण अस्थायी घरटहरा तथा अन्य संरचना हटाई सरकारी जग्गा खाली गर्न निर्देशन दिएको छ। साथै, उक्त जग्गामा भइरहेको अनधिकृत पार्किङ तथा अन्य प्रयोजनका लागि हुने प्रयोग तत्काल बन्द गर्न पनि आग्रह गरेको छ।

तोकिएको समयभित्र सरकारी जग्गा खाली नगरेमा प्रचलित कानुनबमोजिम संरचना हटाउन लाग्ने खर्च सम्बन्धित संरचनाधनीबाटै असुल गरिने सूचनामा उल्लेख छ। त्यस्तै, अनधिकृत रूपमा पार्किङ गर्ने व्यक्ति तथा संघसंस्थाबाट समेत कानुनअनुसार आवश्यक कारबाही तथा खर्च असुल गरिने कार्यालयले चेतावनी दिएको छ।

भूमि प्रशासन कार्यालय दैलेखका कार्यालय प्रमुख बलवीर थापाद्वारा हस्ताक्षरित सूचनामा सरकारी जग्गा खाली गराउन सबैको सहयोगको अपेक्षा गर्दै अतिक्रमण हटाउने कार्यमा आवश्यक सहयोग गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार