धादिङ: धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी बजारमा मंगलबार बिहान करिब ११ बजे भएको दुर्घटनामा डडेलधुराका २८ वर्षीय बरुण प्रसाद भट्टको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भट्टलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो । तर, अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।
मृतक भट्ट डडेलधुराको अजयमेरु गाउँपालिका निवासी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
स्रोत : जिल्ला प्रहरी कार्यालय धादिङ।

