बाँके: बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा विवाद चर्किएर झडप हुँदा प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ। झडपमा चार जना प्रहरी घाइते भएका छन्।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले स्थानीय ४२ वर्षीय प्रेमबहादुर थापामाथि कुटपिट गरेपछि घटना सुरु भएको थियो। मंगलबार बिहान करिब ४ बजे भएको घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायव निरीक्षक डिलबहादुर गिरीको नेतृत्वमा ११ जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले कुटपिटमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुढा भएको थियो। त्यसपछि अवस्था थप तनावपूर्ण बनेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको जनाएको छ।
कुटपिटबाट घाइते भएका थापाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा २३ वर्षीय मनोज सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ।
झडपका क्रममा प्रहरी नायव निरीक्षक गिरी, प्रहरी सहायक हवल्दार बालकृष्ण जिसी, रेशम चौधरी र प्रहरी जवान अमर खत्री घाइते भएका छन्। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

