नवलपुर: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–११ बाहुनीकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बुधबार राति डण्डाबाट सर्दीतर्फ जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर बाहुनीकुनामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीले ज्यान गुमाएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका १३ जनामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते अश्विन चौधरी र निर्मल चौधरीसहित अन्य घाइतेलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ।
अन्य घाइतेको मध्यबिन्दु प्रादेशिक अस्पताल र अरुणखोलास्थित सेवा मेडिकलमा उपचार भइरहेको छ। उपचारपछि केही घाइते डिस्चार्ज भइसकेका छन्।
दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले उद्धार तथा उपचारको व्यवस्था मिलाएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

